कञ्चनपुरका पशुचौपाया बाजुरामा व्यवस्थापन

Posted on: 04 Jul, 2018

असार २०, बाजुरा | ७ नं प्रदेशको कञ्चनपुर जिल्लाका पशुचौपाया बाजुराको बडीमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् । 

बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९० परिवारलाई एक÷एक गाई वितरण गरिएको बडीमालिका नगरपालिका पशु शाखा, बाजुराका प्रमुख शंकर सिंहले जानकारी दिनुभएको छ । 

उहाँले दिएको जानकारीअनुसार कञ्चनपुरको झलारीबाट उन्नत जातका २० गाई र महेन्द्रनगरबाट ७० गाई गरी बडीमालिका नगरपालिका वडा नं १ देखि ९ का किसानलाई वितरण हो । गाईहरुलाई विभिन्न रोग लागेको हुनसक्ने भएकाले ती गाईलाई उपचारपछि मात्र बाजुरा ल्याइएको सिंहले बताउनुभयो । 

बजारमा छाडा छोडिएका उक्त गाई बाजुरामा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले निर्णयसहित बडीमालिका नगरपालिकालाई पत्र पठाएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभएको छ । 

उहाँले किसानलाई उन्नत जातका गाई ल्याएर वितरण गरिएको बताउनुभयो । उन्नत जातका गाई आर्थिक अभावबाट गाई खरिद गर्न नसक्नेलाई वितरण हुँदा राहत पुगेको नगर प्रमुख बडुवालको भनाइ रहेको छ । 

कञ्चनपुरबाट ल्याइएका ९० गाईको निःशुल्करुपमा पशु शाखाले पशु बीमा गर्ने सिंहले बताउनुभयो । आगामी वर्ष आर्थिक अभाव भएका कृषकलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको सिंहले राससलाई बताउनुभयो । 

नगरपालिकाअन्तर्गत रहेको शाखाले भैँसीलाई पोषण भत्ता दिने कार्यक्रम पनि ल्याएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!