सुगम भएर पनि सञ्चारविहीन उदयपुरको ताप्ली

Posted on: 04 Jul, 2018

हरिकुमार राई | असार २०, गाईघाट | उदयपुर जिल्लाका आठ स्थानीय तह अर्थात चार नगरपालिका र चार गाउँपालिकामध्ये अहिले पनि जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकामा सञ्चार सुविधाको व्यवस्था हुन नसक्दा सञ्चारविहीन अवस्थामा रहेको छ । 

जिल्लाका अन्य सबै स्थानीय तहमा विद्युत् तथा टेलिफोन सेवा, मोबाइल सेवाको राम्रो सुविधा रहेता पनि ताप्लीवासी भने सञ्चार सेवाविहीन अवस्थामा रहँदै आउनु परेको ताप्ली–४ का बमेन्द्र तामाङ बताउनुहुन्छ । 

दुई वर्षअघि मात्र एकमात्र एनसेलको टावर ताप्लीस्थित इनामे पहाडको टुप्पोमा स्थापना भएपनि नेपाल टेलिकमको टावर तथा टेलिफोन सेवा व्यवस्था हुन नसक्दा सञ्चार सेवाविहीन हुन परेको स्थानीय जयन्द्र थापाले बताउनुभयो । 

थापा भन्न्नुहुन्छ, “गाउँलेले कुनै क्षेत्रमा आफन्तसँग कुरा गर्नु पर्यो भने इनामे पहाडको टुप्पोमा दुईघण्टा हिँडेर पुगेमात्र एनसेल मोबाइल टिप्छ, नत्र गाउँभरि सञ्चार छैन, सबै खबर बुझ्न र सञ्चार सेवाका लागि कटारी धाउन बाध्य छौँ ।” 

नेपाल टेलिकमले सञ्चार सेवा विस्तार नगर्दा र यसको पहल नहुँदा इनामेबाहेक गाउँपालिकाका अन्य गाउँका बासिन्दा सञ्चारविहीन अवस्थामा रहनुपरेको स्थानीयवासीको गुनासो बढ्दै जान थालेको छ । रुपाटारका कुमारी खड्का भन्नुहुन्छ, “सञ्चारसेवा नहुँदा काठमाडौँ तथा विराटनगरमा अध्ययन गर्ने छोराछोरीसँग कुराकानी गर्न चारघण्टा लगाएर कटारी झर्नुपर्ने बाध्यता छ ।” 

सञ्चारको अभावमा गाउँपालिकाको कार्यालयमा समेत अन्यत्रबाट आउने सर्कुलर, कागजात प्राप्त गर्नुपर्ने र ती कागजात लिन पनि कटारी नै धाउनुपर्ने बाध्यता रहेको ताप्ली गाउँपालिकाका अधिकृत लिला श्रेष्ठको गुनासो छ । 

जिल्लाका सबै भागमा विद्युत् सञ्चार सुविधा व्यवस्था भइसके पनि ताप्ली गाउँपालिका अहिले पनि कर्णालीको हुम्लाभन्दा पनि पछाडि रहेको रुपाटारका एक शिक्षक नरेन्द्रलाल कर्णले बताउनुभयो । 

सञ्चारसेवा व्यवस्थापनको समस्याको विषयमा ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापासँग जानकारी माग्दा आफूले ताप्लीमा नेपाल टेलिकमको टावर स्थापना गर्न पहल गरिरहेको बताउनुभयो । 

यस्तै, गाउँपालिकामा विद्युत्का लागि पनि पहल भइरहेको अध्यक्ष थापा बताउनु हुन्छ । तर कहिलेसम्ममा व्यवस्थापन हुन्छ भन्ने कुरामा भने ग्यारेन्टी गर्न नसकिने थापाको धारणा छ । 

तराईको जिल्ला भएर पनि उदयपुरको ताप्ली गाउँपालिका अहिले पनि सञ्चार सेवाविहीन र विद्युत्विहीन अवस्थामा कर्णाली क्षेत्रभन्दा पनि दुर्गम र पिछडिएको अवस्थामा रहनुपर्ने बाध्यता रहेको ताप्लीवासी जनताको गुनासो छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!