बैतडीमा सुत्केरी भत्ता वितरण हुन सकेन

Posted on: 09 Jul, 2018

असार २५, बैतडी | बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । 

गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताउनुभयो । रकम कम विनियोजन भएकाले चालू आवमा समयमै सुत्केरी भत्ता दिन नसकेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिनुभयो । 

स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत एक हजार र चार पटक गर्भजाँच गराएबापत रु ४०० गरी सुत्केरी आमालाई एकमुष्ट रु एक हजार ४०० दिइन्छ । सुत्केरी आमालाई समयमै भत्ता दिन नसकिएको सकार स्वास्थ्यचौकीका इञ्चार्ज नरेन्द्रराज भट्टराईले बताउनुभयो । 

बैतडीमा एक वर्षमा छ हजार बढी आमा सुत्केरी हुने अनुमान छ । सुत्केरी भएबापत आमाले पाउने रकम समयमै नपाउनाले समस्या भएको स्वास्थ्य संयोजकले जनाएका छन् । 

फागुनदेखि सुत्केरी भत्ता वितरण गर्न नसकेको र अब एकैचोटी दिने तयारी गरेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीको भनाइ छ । जिल्लाभरिका स्वास्थ्यसंस्थाबाट पाउनुपर्ने सुत्केरी भत्ता पछिल्लो समयमा रोकिएको स्वास्थ्य संस्थाले जनाएका छन् । हचुवाका भरमा रकम विनियोजन भएकाले अहिले समस्या भएको हो । 

सुरक्षित मातृत्व सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भए पनि यसलाई व्यवस्थित गर्न नसक्नु सरकारी कमजोरी रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!