पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध

Posted on: 10 Jul, 2018

असार २६, चितवन | नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । 

त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११:४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १:३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँठाउँमा पहिरो खसेका हुन् । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!