आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

Posted on: 11 Jul, 2018

असार २७, खोटाङ | जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी १४ वर्षीया सविना राई, ११ वर्षीया तोयामी राई र ८ वर्षीय नौतन राईलाई पठनपाठनका लागि रु १५ हजार सहयोग गर्ने निर्णय गरेको हो । 

आमाबाबुविहीन बनेपछि नजिकको आफन्त शरणकुमार राईको शरणमा बसिरहेका बालबालिकालाई जिल्ला बाल कल्याण समितिले शैक्षिक क्रियाकलापका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आमा इन्द्रकला राईको २०७२ सालमा तथा बुबा शिवकुमार राईको गत मंसिर २९ गते मृत्यु भएपछि ती बालबालिका विचल्लीमा परेका हुन् । 

शैक्षिक सहयोगका लागि परेको निवेदनका आधारमा तीन बालबालिकालाई सहयोग गर्ने निर्णय गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त प्रमुख भुवन राईले बताउनुभयो । 

अभिभावकविहीन बनेकी सविना काठमाडौँमा, तोयामी इटहरीमा र नौतनलाई झापामा आफन्तको घरमा राखेर संरक्षण प्रदान गरिएको बताइएको छ ।

यसैगरी जिल्ला बाल कल्याण समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका सुस्तमनस्थितिका छात्र÷छात्राको आवास व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको छ । 

हाल एउटै कोठामा बसिरहेका कोठा पाटेसन गर्ने, काठको फ्लोरिङ गर्ने, लगाउने कपडा उपलब्ध गराउनेलगायतका लागि रु २५ हजार सहयोग गर्ने निर्णय गरेको हो । 

सुस्तमनस्थिति छात्र÷छात्राको आवास व्यवस्थापन, दृष्टिविहीन र बहिरा छात्र÷छात्राको सहयोगका लागि सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयका प्रमुख ठाकुर दाहाल र महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख राईलाई जिम्मेवारी दिइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!