चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

Posted on: 11 Jul, 2018

नारायण ढुंगाना/असार २७, काठमाडौँ  | नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडाँै ल्याइएको छ । 


चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंडा सहज रुपमा काठमाडौँ भित्र्याइएको जानकारी दिनुभयो । 


काठमाडाँै ल्याइएको गैँडा चीन पठाउने तयारी भइरहेको छ । अहिले उक्त गैंडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ । 

विसं २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंँडा उपहार दिने निर्णय गरेको थियो । त्यसको ठिक दुई वर्षपछि बिहीबार एकजोडी गैँंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदै छ । सरकारले पोथी गैँडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ । 

“सडकमा हुनसक्ने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैँंडालाई एक दिन अगावै काठमाडौँ ल्याइएको हो,” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो । उहाँपनि गैंडासँगै काठमाडौँ आउनुभएको छ । 

“बाटोमा कुनै समस्या भएन, सहज रुपमा गैंडा काठमाडौँ ल्याइयो,” उहाँले भन्नुभयो, “भोलि चीन पठाइने तयारीमा जुटेका छौँ ।” बाटोमा घाँस, केरा, बन्दागोभी, स्याउ र पानी खुवाउँदै गैँंडा ल्याइएको हो । 

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह–सेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंडालाई स्कटिङ गरेको थियो । काठको खोरभित्र राखिएको भद्रलाई ना५ख ७९९६ नं र रुपसीलाई ना७ख १२७० नं को ट्रकमा हालेर ल्याइएको हो । 

गैंडा ल्याउन चितवन निकुञ्जका प्रमुख ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख अर्यालको नेतृत्वमा भेटेरीनरी प्राविधिज्ञ, वन्यजन्तु प्राविधिज्ञ, मिस्त्री, संरक्षणकर्मी, तथा नेपाली सेना गरी ३५ जनाको टोली सहभागी थियो । पशु चिकित्सकसहित तीन जना चिनियाँ प्रतिनिधि पनि टोलीमा थिए । 

“गैँडालाई चाहिने खानेकुरा र आवश्यक जनशक्तिसहित हामी गैँंडा लिएर आएका छौंँ, बीचमा समस्या परे तत्कालै समाधान गर्ने टिम सँगै छ,” कोषका चितवन प्रमुख अर्यालले भन्नुभयो । 

घाँस काट्ने मान्छे, खोर बनाउने मिस्त्री, उपचारका लागि औषधिसहितका चिकित्सकसँगै ल्याएको अर्याल बताउनुहुन्छ । बाटोमा ठाउँठाउँमा गाडी रोकेर गैंडालाई दाना पानी खुवाइएको थियो । बेलाबेलामा गर्मीबाट जोगाउन नुहाइदिँदै गैंडालाई काठमाडौँ ल्याइएको हो । 

रुपसी र भद्रलाई चीनको चिमोलङ सफारीपार्कमा राखिने छ । बाँकी एक जोडी गैंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा कोषकै प्रांगणमा बनाइएको पिट बोमा९सानो खोर०मा राखिएको छ । सरकारी निर्णय अनुसार उक्त जोडी गैंडालाई आगामी आर्थिक वर्षमा पठाइने छ । 

काठमाडौँबाट गैंडालाई विशेष कार्गो जहाजमा चीन पठाइने छ । केही समय गैंडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैंडासँगै चीन जाँदै हुनुहुन्छ । 

चीनमा गैंडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताउनुभयो । गएको वैशाख १५ गते अन्दाजी दुई वर्षको भद्रलाई निकुञ्जको पश्चिम क्षेत्र खोरीया मुहान र वैशाख १७ गते रुपसीलाई सुकिभार क्षेत्रबाट समातेर ल्याइएको थियो । 

नेपालले अहिलेसम्म विभिन्न देशमा गरेर २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैँडा रहेको छ । चितवनमा मात्रै ६०५ गैंडा रहेको तथ्यांक छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!