साउन १ गतेदेखि उपत्यकामा दिउँसो टिपर चलाउन नपाइने

Posted on: 11 Jul, 2018

असार २७, काठमाडौँ | गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न उपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ । 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज काठमाडौँ, ललितपुर र भक्तपुरका सरोकारवाला निकायका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर चलाउन रोक लगाउन निर्देशन दिनुभएको हो । उक्त व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ । 

तत्काल खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी जतिसक्दो चाँडो पुर्न निर्देशन दिनुभएको छ । 

चाबहिल–बौद्ध–जोरपार्टी, कलंकी–थानकोटलगायत सडकको अवस्था र सार्वजनिक यातायात क्षेत्रको केही समय अघिसम्म कायम रहेको सिण्डिकेटको पूर्णरुपमा अन्त्य गर्ने विषयमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव लगायतलाई बोलाएर ती समस्या तत्काल समाधान गर्न आज निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री ओलीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउनसमेत निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले सार्वजनिक यातायातलाई भरपर्दाे, सेवाग्राहीमैत्री एवं प्रविधिमैत्री बनाउँदै ज्येष्ठ नागरिक, महिला, अपाङ्गलगायतलाई प्रदान गरिने आरक्षण सीट सुविधाको उपभोगलाई सहज बनाउनसमेत निर्देशन दिनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!