नेपाल–चीन परामर्श बैठक सम्पन्न

Posted on: 12 Jul, 2018

असार २८, काठमाडौँ | नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भयो । 


बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्वको यातायात मन्त्रालयका उपसचिव लियु सियाओमिङले गर्नुभएको थियो । 

नेपाली प्रतिनिधिमण्डलमा उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरु सम्मिलित हुनुहुन्थ्यो । चिनियाँ प्रतिनिधिमण्डलमा चीनको यातायात मन्त्रालय, वैदेशिक मामिला मन्त्रालय, सार्वजनिक सुरक्षा मन्त्रालय, जलयातायात ब्यूरो, भन्सार प्रशासन र राष्ट्रिय रेलमार्ग प्रशासनका अधिकारीहरु सम्मिलित हुनुहुन्थ्यो । 

सकेसम्म चाँडो उक्त प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिने विषयमा दुई पक्षबीच मैत्री र सौहार्दपूर्ण वातावारणमा रचनात्मक छलफल भएको र तेस्रो परामर्श बैठक शीघ्र काठमाडौँ गर्ने सहमति बनेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । 

बैठकअघि नेपाली प्रतिनिधिमण्डललाई तियानजिन बन्दरगाहको भ्रमण गराइएको थियो त्यहाँका अधिकारीहरुले नेपाली टोलीलाई बन्दरगाह संरचनाबारे जानकारी दिनुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!