मनसुन वर्षाको प्रभाव देशैभरी, अझै तीन दिन वर्षा हुने

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौँ  | मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । 

आज दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने रातिको समयमा देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

भोलि (शनिबार) पनि दिउँसोको समयमा देशभर बदली रही देशको मध्य र पश्चिमी भेगका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ, रातको समयमा पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ । 

मध्य र पश्चिमी भू–भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ५.२ मिलिमिटर वर्षा भएको छ । विराटनगरमा ४८, ताप्लेजुङमा २०, सिमरामा २०, भैरहवामा ५४, पोखरामा २२, जुम्लामा १२ र धनगढीमा ४८ मिलिमिटर वर्षा भएको छ । 

आज काठमाडौँको अधिकतम ताफक्रम २८.५ र न्यूनतम तापक्रम २०.८ डिग्री सेल्सियस रहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!