अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

Posted on: 18 Jul, 2018

साउन २, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरोबाट पर्वत जिल्लाको जलजला गाउँपालिकामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अध्यक्ष तिमिल्सिनाले आज एक विज्ञप्तिमार्फत पहिरोबाट १७ वर्षीय विकास परियारको मृत्यु हुनुका साथै भीमलाल आचार्य, नारायणी आचार्य र तुलसीदेवी आचार्य गम्भीर घाइते हुनुभएको घटनाले आफूलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्नुभएको छ । 

उहाँले यस दुःखद् घडीमा दिवंगत विकास परियारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ । पहिरोका कारण जलजला गाउँपालिका–७ का पाँच घर पूर्ण क्षति भएको र १५ घरपरिवार विस्थापित भएका छन् । 

अध्यक्ष तिमिल्सिनाले घाइतेहरुको उपचार, पीडित परिवारलाई राहत तथा बसोबासको शीघ्र व्यवस्थापनमा तदारुकताका साथ लाग्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!