एक करोड लागतमा खानेपानी आयोजना निर्माण

Posted on: 20 Jul, 2018

साउन ४, चितवन | पूर्वी चितवनको कालिका नगरपालिका–१ गडुवामा रु एक करोड लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । 

पोखरास्थित गोर्खा वेल्फेयर ट्रष्ट, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण भएको हो । 

मिटर प्रणालीमा धारासहितको खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी हर्षित भएका छन् । बिहीबारमात्रै उक्त खानेपानी आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिएको गडुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव चेतकुमार सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार खानेपानी आयोजनाको गतसाल कात्तिकबाट निर्माण शुरु भएको थियो । आयोजनाबाट यहाँ १५८ घरमा मिटर प्रणालीको धारा जडान भएको छ । 

डिप बोरिङ गरी पानी निकालिएको आयोजनाको ३० घनमिटरको ‘ओभरहेड रिजर्भ ट्याङ्की’ रहेको छ । आयोजनामा कूल नौ हजार २३४ मिटर लामो पाइप बिच्छ्याइएको छ । 

आयोजनाको कूल लागत रु एक करोड एक लाख ५२ हजारमध्ये सहयोगी संस्थाबाट रु ८५ लाख ८६ हजार र स्थानीय समुदायको तर्फबाट रु १५ लाख ६६ हजार लागत लागेको आयोजनाले जनाएको छ । 

खानेपानी उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर केसीले स्थानीय समुदायले शुद्ध खानेपानी पिउन पाउने भएपछि खुशी व्यक्त गर्नुभयो । निकट भविश्यमै यहाँको लंकालाइन र सूर्यपुरमा समेत खानेपानी आयोजना निर्माण हुने जनाइएको छ । 

कालिका नगरपालिका–१ का वडाध्यक्ष लीलाबहादुर गुरुङले स्थानीय समुदायका लागि खानेपानी आयोजना महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!