मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

Posted on: 20 Jul, 2018

साउन ४, कञ्चनपुर | मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ । 

स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो । 

समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्जुमा तथा पञ्चवर्षीय आवधिक योजना निर्माण सहभागिता गराउनका लागि आधुनिक प्रविधिको प्रयोग गरी तथ्याङ्क संकलन कार्य भइरहेको छ । 

कैलालीको गौरीगंगा नगरपालिका, कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा घरघुरी सर्भेक्षणसँगै अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य भइरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ र एनएलआरको संयुक्त साझेदारीमा सञ्चालित समावेशी विकास कार्यक्रमका अधिकृत राजीव अवस्थीले बताउनुभयो । घरधुरी सर्वेक्षण तथ्याङ्क संकलन कार्यलाई व्यवस्थित बनाउन प्रत्येक वडाबाट सिफारिस गरिएका तथ्याङ्क संकलनकर्तालाई दुईदिने तालीम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको छ । 

“तथ्याङ्क संकलनको कार्यलाई छिटो छरितो बनाउनका लागि मोबाइल एप्सको प्रयोग गरी जिपिएस फोटोसहितको तथ्याङ्क संकलन गरी सफ्टवेयर व्यवस्थापनमार्फत स्थायीको घर नम्बरसहितको डिजिटल तत्थ्याङ्क संकलनको कार्य गरेका छौँ”, उहाँले भन्नुभयो । 

हालसम्म संकलित तथ्याङ्कअनुसार कैलालीको गौरीगंगा नगरपालिकाका पाँच हजार ९०७ घरघुरीमध्ये एक हजार १६७ जना व्यक्ति अपाङ्गता भएका पाइएका छन् । जसमध्ये १६९ जनाले मात्रै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । 

यसैगरी लालझाडी गाउँपालिकाका एक हजार १५३ घरघुरीको तथ्याङ्क संकलन गरिएकामा जसमध्ये ४११ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । अपाङ्गता भएका व्यक्तिमा ७१ जनाले परिचयपत्र पाएका छन् । 

शुक्लाफाँटा नगरपालिकामा अपाङ्गता पहिचान तथ्याङ्कमात्र संकलन गरिएको छ । जसअनुरुप हालसम्म सात हजार ७३३ घरधुरीको तत्थ्याङ्क संकलन गरिएको छ जसअन्तर्गत ४११ जना अपाङ्गता भएका व्यक्तिमध्ये २२० जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेको पाइएको छ । 

बेलडाँडी गाउँपालिकामा तीन हजार घरधुरीको सर्भेक्षणको कार्य गरिएको छ । अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन भइरहेको छ । तथ्याङ्क संकलनका लागि गौरीगंगामा ३५, लालझाडीमा २२, बेलडाँडीमा २१ र शुक्लाफाँटामा ३० जना गणक खटिएका छन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!