एम्नेस्टीले भन्यो -अस्पताल परिसरमा नै बल प्रयोग अस्वीकार्य

Posted on: 20 Jul, 2018

साउन ४, काठमाडौं। एम्नेस्टी इन्टरनेसनल नेपालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई हिजो जबर्जस्ती ढङ्गमा काठमाडौं ल्याउने क्रममा प्रहरीद्वारा भएको बलको प्रयोगप्रति चासो व्यक्त  गरेको छ। गत १६ असारदेखि नेपालको स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधारसम्बन्धी केही मूख्य माग राख्दै र चिकित्साशास्त्र अध्यनसम्बन्धी विधेयकमा आफ्नो असहमति जनाउँदै यसलाई संसदबाट फिर्ता लिनुपर्ने माग राख्दै केसी कर्णाली प्रतिष्ठानमा अनसरनत थिए ।

लाठीधारी प्रहरीहरू बलपूर्वक अस्पताल परिसर प्रवेश गरी स्वास्थ्यकर्मी र सर्वसाधारणलाई दुर्व्यवहार गरेकोमा एम्नेस्टीले चासो देखाएको हो ।

 एक जना प्रहरी नै गम्भीर घाइते हुनुका साथै अन्य सर्वसधारण सहित २० जना डाक्टरहरू घाइते हुनेगरी अश्रु ग्याँसका साथै गोली समेत चलाएको भनिएकोले सरकारले  अनावश्यक बल प्रयोग गर्नु  दु :खत भएको  एम्नेस्टीले जनाएको छ।     

एम्नेस्टिले  नेपाल सरकारलाई बल तथा बन्दुक प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घको आधारभूत सिद्धान्तहरूलाई पर्याप्त सुनिश्चित गर्न आग्रह गरेको छ  । यस सिद्धान्तअनुसार बल प्रयोग गर्नुपर्ने जुनसुकै अवस्थामा पनि कम्तिमा आवश्यकता, समानुपातिकता, वैधानिकता र जवाफदेहिताका आधारमा मात्रै बल प्रयोग गर्नुपर्ने एम्नेस्टीले उल्लेख गरेको छ।

"विपक्षी दल वा/तथा अन्य फरक मत राख्ने जोकोहीसँग अर्थपूर्ण संवाद प्रकृयाका माध्यमबाट विवादित विषहरूको समाधान खोज्न पनि हामी नेपाल सरकरलाई अनुरोध गर्दछौं," एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!