आन्दोलनले खानेपानीको हाहाकार

Posted on: 21 Jul, 2018

साउन ५, भक्तपुर | चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । 

नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानीको हाहाकार भएको हो । चाँगुनारायण नगरपालिकाले पानीको कर संकलन ठेक्कामा लगाएपछि व्यवसायी आन्दोलित भएका हुन् । 

नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले खानेपानी प्रशोधित वितरण गर्ने उद्योगलाई कर लगाएकोमा आपत्ति नभएको बताउँदै ठेक्का लगाएर पटके कर उठाएकोमा आपत्ति भएको बताउनुभयो । 

उद्योगीहरुले नगरपालिकालाई एकमुष्ट कर तिर्न तयार रहेको बताउ“दै उहाँले पानीमा बाटो बाटोमा बसेर ठेकेदारमार्फत पानीमा निकासी कर लगाउनु नाजायज भएको जिकिर गर्नुभयो । 

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले विगतमा पनि पानी उद्योगबाट कर लिँदै आएको बताउँदै उद्योग एवं व्यवसायीले कर तिर्नुपर्ने बताउनुभयो । 

उहा“ले राजश्व परामर्श समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधि राखेर बोर्ड र परिषद्ले पानीको कर पास गरेको बताउँदै यसबारे पुन: समितिसँग छलफल गरिने बताउनुभयो । भक्तपुरको झौखेलमा रहेको १५ भन्दा बढी खानेपानी उद्योग सञ्चालनमा रहेका छन् । यहाँको पानी भक्तपुरसँगै काठमान्डौ उपत्यकामा बिक्री हुँदै आएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!