कञ्चनपुरको चौबीस स्थानमा सौर्य बत्ती जडान

Posted on: 21 Jul, 2018

साउन ५, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का २४ स्थानमा सौर्य बत्ती जडान गरिएको छ । रु २१ लाख रकम खर्चेर वडा कार्यालयले सार्वजनिक स्थान, मन्दिर, विद्यालय र चोकहरुमा सौर्य बत्ती जडान गरेको हो । 

वडा कार्यालयको रु १६ लाख र नगरपालिकाको रु पाँच लाख लागतमा सौर्य बत्ती जडान गरिएको वडाध्यक्ष कमल गिरीले बताउनुभयो । 

वडाका महत्वपूर्ण ठाउँमा सौर्य बत्ती जडान गरिएकाले रातिका बेला सर्वसाधारणलाई हिँडडुल गर्नमा निकै सहज भएको छ । 

राति हुनेबित्तिकै आफैँ बल्ने र दिउँसो हुनासाथ आफैँ निभ्ने गरी स्वचालित प्रणालीमा आधारित सौर्य बत्ती जडान गरिएको हो । 

रातिका बेला नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेर बालीनालीमा नोक्सानी पुर्याउँदै आएका जंगली जनावरसमेत सौर्य बत्तीको उज्यालोले तर्सेर भाग्ने बताइएको छ । वडाका अन्य स्थानमा चालू आवमै सौर्य बत्ती जडान गर्ने योजना वडा कार्यालयको रहेको छ । यसअघि नगरपालिकाको वडा नं ९ मा समेत रु १० लाख रकम खर्चेर सौर्य बत्ती जडान गरिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!