सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

Posted on: 22 Jul, 2018

साउन ६, लहान | नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ । 

सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभियानका क्रममा रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिला कुष्ठरोगी फेला परेको धनगढीमाई नगरपालिका, स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विलटनारायण रायले जानकारी दिनुभयो । 

कुष्ठरोग निवारण अभियानअन्तर्गत नयाँ कुष्ठरोगी खोजी गर्ने क्रममा नगरपालिकाका फूलकहाकट्टी, हनुमाननगर, भवानीपुर र नयनपुरमा छ जनाको शरीरमा पनि रातो फुस्रो नचिलाउने दाग, बाक्लो अनुहार तथा कानको लोती, नशा झमझमाउने र गिर्खा निस्किएको भेटिएको रायले बताउनुभयो । 

समयमै जाँच गराई औषधि सेवन गरे रोगसँगै अपाङ्गता हुनबाट जोगिन सकिने उहाँको भनाइ छ । ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको कीटाणुबाट सर्ने कुष्ठरोगीको संख्याका आधारमा झापा पहिलो, मोरङ दोस्रो, सुनसरी तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौंँ जिल्ला रहेको कुष्ठरोगीका लागि कार्यरत संस्था नेपाल कुष्ठरोग सङ्गठन सिरहाले जनाएको छ । 

कुष्ठरोगीको उपचार जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुँदैआएको छ । 

समयमै उपचार गरिए कुष्ठरोग निको हुने चेतनाको अभावमा दलित विपन्न समुदायका कुष्ठरोगी अझै स्वास्थ्योपचारका लागि अस्पतालसम्म नपुग्ने गरेको पाइएपछि उनीहरुलाई लक्ष्य गरी चेतनामूलक र उपचारात्मक कार्यक्रम सञ्चालन गरिएको अधिकृत रायले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!