बेनी-जोमसोम सडकखण्ड अबरुद्ध, तीर्थयात्री मर्कामा

Posted on: 28 Jul, 2016

साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । 

बहत्तर किलोमिटर सडकखण्डअन्तर्गत म्याग्दीको चमरे, राहुपारे, बैसरी, भिरकाट्टे, दाना काभ्रे, बाधरजुँगे भिरमा पहिरो र मार्फास्थित ठाडोखोलामा जोडिएको पुल बगाएपछि मङ्गलबार रातिदेखि सीधा यातायात अवरुद्ध बनेको हो । 

मार्फामा बगाएको काठको पुलको विकल्पको खोजी भइरहेकाले यात्रु सवारीसाधन परिर्वतन गरेर आवतजावत गरिरहेका छन् । मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिने यो समयमा सडक अवरुद्ध हुँदा स्थल मार्ग हुँदै आउने आन्तरिक तथा बाह्य तीर्थयात्री र पर्यटक मारमा परेका छन् । 

चमरे र बैसरीमा सडक नै भासिँदा तीर्थयात्री पैदलमार्फत घुमाउरो बाटोबाट यात्रा गर्दै आएका छन् । मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि भारतीय तीर्थयात्री यतिबेला मुस्ताङमा बढी जाने गरेका छन् । वर्षापछिको पहिरोले सडक जीर्ण बनेपछि यात्रा जोखिमपूर्ण बनेको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिएक छन् । 

वर्षाले मुस्ताङखण्डमा पुल बगाउनुबाहेक खासै प्रभाव पारेको छैन । दुई जिल्लाको सिमाना बाँधरजुँगे भिरदेखि म्याग्दीखण्डसम्मको भाग जोखिमपूर्ण छ । 

“पहिरो नरहेको ठाउँमा पनि हिलोले गाडी जानै सक्ने अवस्था छैन,” सचिव श्रेष्ठले भने– “केही ठाउँमा हाम्रो गाडी पनि फसेका छन् ।” पहिरो खसेको स्थानमा यात्रुको सहयोग र उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सीमा प्रहरीचौकी भुरुङतातोपानी र दाना प्रहरीचौकीबाट प्रहरी परिचालन गरेको बताइएको छ । 

पर्यटकको चाप बढी हुने यो सडकखण्डका म्याग्दीतर्फ बढी समस्या देखिएकाले स्थानीय प्रशासनसँग सहकार्य गरेर खुलाउने प्रयास भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । 

वर्षाले थुप्रै स्थानमा पहिरो झरेको र सडक जीर्ण बनेकाले सडक विभाग बागलुङसँग सहकार्य गरेर डोजरमार्फत पहिरो हटाउने काम सुरु गरिएको उनले जानकारी दिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!