पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

Posted on: 30 Jul, 2016

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । 

एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी साउन १३ गतेसम्म ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएका छन् । 

देशको पश्चिमी भेगमा भने अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । खासगरी सुदूरपश्चिम भेगमा रातिको समयमा एक/दुई दिन भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले राससलाई जानकारी दिए । 

“दुई तीन दिनयता लगातारको झरी कम भइसकेको छ, सक्रिय मनसुनमा सुधार आएको छ, तर पश्चिम क्षेत्रमा केही दिन वर्षा हुने देखिएकाले सतर्क रहनुपर्ने हुन्छ”– उनले भने । आज पनि उपत्यकासहित देशभर बदलीसँगै अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ । 

विभागको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी धनगढीमा ४१ मिलिमिटर र सबैभन्दा कम दिपायलमा तीन मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १२ मिलिमिटर वर्षा भएको छ भने ताप्लेजुङमा २३, ओखलढुङ्गामा ३३ र डडेल्धुरामा १९ मिलिमिटर वर्षात् भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!