सडक अवरुद्ध हुँदा बिरामीलाई हेलिकप्टर

Posted on: 22 Sep, 2016

असोज ६, पर्वत । पर्वतका ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडाँै लगिएको छ । 

पर्वतको सदरमुकाम कुश्मादेखि दक्षिण रानीपानी जोड्ने सडक अवरुद्ध हुँदा करिब दुई लाख रुपैयाँ खर्चिएर बिरामीलाई राजधानी लैजानु परेको छ । छिमेकी जिल्ला बागलुङको दक्षिण भेगस्थित छिस्ती गाविसका ५५ वर्षीय टीकानिधि पाध्यालाई बुधबार साँझ श्री एअरलाइन्सको हेलिकप्टरमार्फत राजधानी लगिएको हो । 

मङ्गलबारदेखि एक्कासि बिरामी परेका पाध्यालाई स्थानीयस्तरमा उपचार गरेर निको हुने सम्भावना नभएपछि सिधै राजधानीस्थित ग्रान्डी अस्पतालमा लगिएको स्थानीयवासी राधाकृष्ण पाठकले जानकारी दिनुभयो । 

पाध्यालाई एक्कासि श्वासप्रश्वाससम्बन्धी रोग देखापरेपछि पर्वतको पाङराङ गाविसस्थित कर्नासमा हेलिकप्टर अवतरण गराई काठमाडौँको ग्रान्डी अस्पतालमा लगिएको पाध्याका छोरा कौरब पौड्यालले जानकारी दिनुभयो । पाध्यालाई मङ्गलबारदेखि श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीरका बिभिन्न भागमा फोका उठेको पौडेलले जानकारी दिनुभयो । 

उक्त हेलिकप्टर चार्टर गर्दा रु दुई लाखभन्दा बढी खर्च लागेको छ । आर्थिक अवस्था कमजोर भएपनि ऋण गरेरै हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता आएको उहाँले गुनासो गर्नुभयो । 

बाग्लुङको दक्षिणी भेग छिस्ती गाविसमा सडक नपुग्दा त्यहाँका मानिस पर्वतको पाङग्राङ, कर्नास, बाच्छा हुँदै पर्वत सदरमुकाम कुश्मा जोड्ने सडकको प्रयोग गर्दै आएका छन् । उनीहरु सोही सडकमार्फत दैनिक उपभोग्य सामानको ढुवानी गर्दै आएका छन् । पर्वतमा बर्सातले अवरुद्ध भएका ग्रामीण सडक अहिलेसम्म सञ्चालन नहुँदा आवतजावतमा निकै समस्या उत्पन्न भएको स्थानीय गाउँलेको गुनासो छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!