फिफाले वर्ष खेलाडीका लागि २३ जनाको नाम सार्वजनिक (को-को परे?)

Posted on: 05 Nov, 2016

कात्तिक २०, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सन् २०१६ का लागि वर्ष खेलाडी मनोनयन गरी नाम सार्वजनिक गरेको छ ।

फिफाले २३ खेलाडीको नाम सार्वजनिक गरेको हो । फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य टुटेपछि यस वर्षदेखि फेरि फिफा वर्ष खेलाडी अवार्ड दिन लागेको छ ।


सार्वजनिक गरिएकामा लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेइमार, सर्जियो अग्युरो, ग्यारेथ बेल, आन्द्रेस इनिएस्टा, सर्जियो रामोस, एलेक्स सान्चेज, लुइस स्वारेज, जेमी भर्डी, एन्टोनी ग्रिजम्यान, टोनी क्रसलगायत २३ जना खेलाडी छन् ।

फिफाले सन् १९९१ देखि २००९ सम्म पनि फिफा वर्ष खेलाडी अवार्ड दिँदै आएको थियो । तर त्यसपछि गत वर्षसम्म फ्रेन्च फुटबलसँगको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिएको थियो ।

फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्नेछ ।

त्यसअघि डिसेम्बर २ मा अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक हुनेछ । अवार्डका लागि दुई किसिमको मतदान प्रक्रिया अपनाइएको छ ।

विश्वका राष्ट्रिय टिमका कप्तान तथा मूख्य प्रशिक्षकले दिएको मतलाई ५० प्रतिशत तथा विश्वका झण्डै दुई सय खेल पत्रकार तथा अनलाइनमार्फत समर्थकले दिने मतले ५० प्रतिशत हिस्सा लिने छ ।

फिफाले पुरुष वर्ष फुटबल खेलाडीसहित विभिन्न ८ विधामा पुरस्कार प्रदान गर्ने छ । फिफा महिला वर्ष खेलाडी, पुरुष वर्ष प्रशिक्षक, महिला वर्ष प्रशिक्षक, वर्षको उत्कृष्ट गोल अवार्ड, फेयर प्ले अवार्ड, फ्यान अवार्ड र फिफा वर्ष टिम अवार्ड प्रदान गरिने छ ।

अवार्डका लागि मत दिन चाहने समर्थकले फिफा डट कममा गएर आफूलाई मन परेको खेलाडीलाई मत दिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!