साफ महिला च्याम्पियनमा नेपालको जित

Posted on: 26 Dec, 2016

पुस ११, काठमाडौँ । नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । 

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउने क्रममा सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् । उनी एकै खेलमा पाँच गोल गर्ने नेपालकी पहिलो महिला फुटबलरसमेत बनिन् । 

यसअघि अनु लामा र जमुना गुरुङले एकै खेलमा चार चार गोल गरेका थिए । भण्डारीले खेल सुरुआतीको पाँचौँ मिनेटमै पहिलो गोल गर्दै खाता खोलिन् । त्यस्तै उनले खेलको पहिलो हाफको २३ र ३५ औँ मिनेटमा थप दुई गोल गरिन् भने खेलको दोस्रो हाफमा पनि समान दुई गोल नै थपिन् । उनले खेलको ७२ र ७७ औँ मिनेटमा फेरि गोल गरिन् । 

त्यसैगरी नेपालकी शर्मिला थापाले खेलको पहिलो हाफमा दुई गोल थपिन् । उनले खेलको नवौँ र २६ औँ मिनेटमा दुई गोल गरेकी हुन् । खेलको ९० औँ मिनेटमा कृष्ण खत्रीले थप एक गोल गरेपछि नेपालले भुटानमाथि सहजै ८–० को जित हात पा¥यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!