पाँचौ पर्वत महोत्सवमा पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिता हुने

Posted on: 01 Jan, 2017

महेन्द्र केसी 

पर्वत । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव २०७३ मा पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अञ्चलस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगगिता महोत्सवमा संचालन हुने पाँचौ पर्वत महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

महोत्सवमा भलिब प्रतियोगिताको विजेताले १ लाख १ सय ११, द्धितियले ५० हजार १ सय ११ पाउनेछन् । साथै प्रतियोगितामा सेमिफाइनलमा पराजित हुने २ समुहले २० हजार १ सय ११ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क ५ हजार तय गरिएको छ । 

त्यस्तै महोत्सवमा खुल्ला रत्यौली प्रतियोगिता समेत हुनेछ । समाजमा रहेका रितिरिवाज तथा स्थानीय सस्कृतिको संरक्षण र जर्गेना गर्ने उदेश्यले रत्यौली प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा हुने रत्यौली प्रतियोगितामा विजेता हुने समुहले १२ हजार नगद प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले ८ हजार, तृतीयले ५ हजार प्राप्त गर्नेछ भने दर्ता शुल्क १ हजार तोकिएको छ । रत्यौली प्रतियोगितामा भाग लिने समुहमा प्रति समुह १० जनाभन्दा माथि हुन नपाउने आयोजकले जनाएको छ । 

त्यसैगरी महोत्सवमा बालप्रतिभाको प्रस्फुटन गराउनको लागि खुल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ । जसमा विजेता हुनेले १० हजार, द्धितियले ७ र तृतीयले ४ हजार नगद प्राप्त गर्नेछन् । नृत्य प्रतियोगितामा भाग लिने सहभागी समुह वा विद्यालयले दर्ता शुल्क ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

महोत्सवमा छेलो प्रतियोगिता, स्थानीय भेषभुषा तथा झाँकी, शैक्षिक, कृषि प्रदर्शनी हुनेछन् । माघ १३ देखि २२ गतेसम्म १० दिन संचालन हुने पर्वत महोत्सवमा साहसिक पर्यटनमा सहभागी हुन तथा अग्ला र लामा पुल, यान्त्रिक पुल, गुफाहरु, सह्रस्रधारा लगायतका पर्यटकीय स्थलहरु हेर्न चाहनेहरुका लागि आयोजकले प्याकेजमै अवलोकन गराउने व्यवस्था समेत मिलाएको जनाएको छ । पर्वत उद्योगा बाणिज्य संघले महोत्सवलाई सफल बनाउनको लागि ४६ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरेको छ । उपसमितिले आ–आफ्नो काम तीव्रगतिमा गरिरहेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवं पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए ।

महोत्सवको उद्घाटनको अवसरमा प्याराग्लाइडिङबाट पुष्पबृष्टि गरिने मूल आयोजक समितिले जनाएको छ । साथै प्याराग्लाइड गर्न चाहनेहरुलाई दुर्लुङदेखि कुश्मासम्म यात्रा गर्न सकिने व्यवस्था मिलाइएको पर्वत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले जानकारी दिए । 

कालीगण्डकीमा हुने साहसिक जलयात्रालाई प्रोत्साहन गर्न महोत्सवको पूर्वसन्ध्यामा कालीगण्डकी सरसफाई अभियान राखिएको र महोत्सव अवधिभर इच्छुक जो कोही पनि महोत्सवको सचिवालयमा सम्पर्क राखी जलयात्रा गर्न सक्ने प्रबन्ध मिलाइएको उनको तर्क छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!