भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पुरा

Posted on: 11 Jan, 2017


दिनेश ठकुल्ला/पुस २७, धनगढी । धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पुरा भएको छ । 

काठमाण्डौको संकटा क्लव चौथो टीमको रुपमा अन्तिम चारमा पुगेसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । वुधवार धनगढीको क्षेत्रीय रंगशालामा भएको अन्तिम क्वाटरफाईनलमा विभागीय टीम नेपाल आर्मीलाई २–१ को झड्का लगाउँदै संकटा सेमिफाईनल पुगेको हो । 

कडा प्रतिस्पर्धामा अधिकांश समय वल आफ्नो कव्जामा राखेको भएपनि नेपाल आर्मीले गोल गर्न नसक्दा हार व्यहोरेको हो । हेटौडामा सुमन वम्जन स्मृति अन्तराष्ट्रिय गोल्डकपको विजेता आर्मीलाई हराउने क्रममा पहिलो हाफको १६ औं मिनेटमा संकटाका लागि जर्सी नम्वर १० का मार्टिन अएजीले पहिलो गोल गरे । पहिलो हाफकै २५ मिनेटमा मार्टिनले अर्को गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । 

पहिलो हाफमा दुई गोलले अगाडी रहेको संकटालाई दोस्रो हाफमा आर्मीले अधिकांश समय कव्जामा राख्यो । दोस्रो हाफको ६१ औं मिनेटमा आर्मीका लागि जर्सी नम्वर २१ का टंक वुढाथोकीले गोल गर्दै खेललाई २–१ मा पुराए । लगातार गोलपोष्टमा आक्रमण गर्दा पनि त्यसपछि गोल नभएपछि आर्मी प्रतियागितावाट वाहिरिएको हो । 

जितपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुमा गोल गर्ने रणनिति अनुसार खेलेको र त्यसपछि समालिएर खेल्दा जित हासिल भएको वताउनुभयो । 

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सुरुमा गोल खाएपछि दवावमा परेको र त्यसपछि गोल गर्ने प्रयासहरु सफल नहुँदा हार व्यहोरेको वताउनुभयो । 

सुदुरपश्चिम ११ फुटवल क्लवको आयोजनामा पुस २१ गतेदेखि भईरहेको प्रतियोगिता अन्तर्गत विहीवार पहिलो सेमिफाईनल हुनेछ । पहिलो सेमीफाईनलमा भारतको दिल्ली युनाईटेड र काठमाण्डौको मनाङ मस्याङदी प्रतिस्पर्धा गर्नेछन । 

शुक्रवारको दोस्रो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम ११ र संकटा वीच खेल हुनेछ । माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले दुई लाख ५१ हजार तथा उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल प्राप्त गर्नेछन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!