बर्दियामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु

Posted on: 09 Feb, 2017

माघ २७, बर्दिया । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ । 

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा ९एमाले० का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै उपाध्यक्ष गौतमले खेलकुद स्वास्थ्यका लागि मात्र नभई देशकै प्रतिष्ठाको विषय भएकाले सक्षम खेलाडी उत्पादन गर्न विद्यालय नै उत्तम रहेको बताउनुभयो । खेलकुद क्षेत्रले स्थानीय क्षेत्रको मात्र नभई देशलाई अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउने भएकाले खेलकुद क्षेत्रको विकासमा सबैजना एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । 

जिल्ला शिक्षा कार्यालय बर्दियाका निमित्त जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगिताले खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने बताउनभयो । प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए । प्रतियोतिाका औपचारिक खेल भने आजदेखि सुरु हुनेछ । प्रतियोगितामा बर्दियाका ७० ओटा सरकारी तथा निजी विद्यालयको सहभागिता छ । 

प्रतियोगीतामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, सटफुट, कराते तेक्वान्दो, उसु खेलमा छात्रछात्रा गरी झन्डै दुईहजार पाँचसय खेलाडीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्ययक्ष खगेन्द्र खनालले जानकारी दिनुभयो । 

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पाञ्चजन्य मावि पदनाहाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!