आइसीसी विश्व क्रिकेट च्याम्पियनसीप: नेपाल केन्यासँग ५ विकेटले पराजित

Posted on: 11 Mar, 2017

फागुन २८, काठमाडौँ । आइसीसी विश्‍व क्रिकेट लिग च्यामपियनसीप खेल अन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।


शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो । डिएल मेथडअनुसार केन्याले पाएको ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

वर्षाका कारण बीचमै खेल रोकिएपछि ३८ ओभरको खेल डिएल मेथडका आधारमा फेरि २९ ओभरमा छोट्याइएको थियो । तर, केन्या जवाफी व्याटिङमा उत्रिएका बेला पानी परेपछि खेल २६ ओभरमा छोट्याइएको थियो ।

नेपालले ३६ ओभर ८ विकेट गुमाएर ११२ रन बनाउँदा पुनः वर्षाभएपछि खेल २९ ओभरमा छोट्याइएको थियो । त्यसपछि केन्याले २९ ओभरमा १०४ रनको विजयी लक्ष्य पाएको थियो । तर, पछि फेरि पानी परेपछि केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पाएको हो ।

केन्याका लागि कप्तान राकेप पटेलले ३४ तथा कोलिन्स ओबुयाले २४  रन बनाए । नेपालका सन्दिप लामिछाने र सागर पुनले समान दुई दुई तथा बसन्त रेग्मीले एक विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा एक सय १२ रन बनायो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले २७, दिपेन्द्र सिंह ऐरीले १९, सागर पुनले १०, बसन्त रेग्मीले ६, विनोद भण्डारीले ४, शरद भेषावकरले ३ तथा मेहबुब आलमले २ रन बनाए । सोमापाल कामीले नटआउट १८ तथा शक्ति गौचनले नटआउट १५ रन बनाए ।

केन्याका शेम एगोचेले तीन तथा नेलशन आधिएमबोले दुई विकेट लिए । जितपछि केन्याको ९ खेलबाट १० अंक भएको छ । नेपालको भने ९ खेलबाट ६ अंक छ ।  नेपाल र केन्याबिच आउँदो सोमबार दोस्रो खेल हुनेछ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!