एसीसी इमर्जिङ कप: हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति

Posted on: 30 Mar, 2017

चैत १७, काठमाडौँ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले आज नेपाललाई २१५ रनको चुनौति दिएको छ । 

बङ्गलादेशको शेख कमल इन्टरनेशनल स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो । 

हङकङका लागि प्रारम्भिक ब्याट्सम्यान क्यामरन म्याकअलसन र अंशुमान राथले ९५ रनको साझेदारी गरे । अंशुमानले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ६४ बलमा सात चौका प्रहार गरे । यस्तै क्यामरनले ६९ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाए । वाकस खानले ३०, साहिद वासिफले २२, इशान खानले १८ र वजिद शाहले १६ रन बनाए । 

बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै २९ रन खर्चे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशन भारीले समान दुई–दुई विकेट लिए । मल्लले सात ओभरमा २५ रन दिए । कार्कीले १० ओभर बलिङ गर्दै एक मेडन राखेर ३७ रन खर्चे । यस्तै भारीले १० ओभर बलिङ गर्दै ५३ रन दिए भने सन्दिप लामिछाने एक विकेट लिए । 

नेपाल र हङकङ समूह बी का दुवै खेल हारेर समूह चरणबाटै बाहिरिसकेका छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग ६ विकेटले तथा दोस्रो खेल बङ्गलादेशसँग ८३ रनको हारेको थियो । यस्तै हङकङ पहिलो खेलमा बङ्गलादेशसँग ८ विकेट तथा दोस्रो खेलमा पाकिस्तानसँग दुई सय ४८ रनले पराजित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!