सोलुखुम्बुको पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

Posted on: 12 Apr, 2017

चैत ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ । 

नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो । 

अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रमुख अतिथि मिग्युल मङ्गलबार काठमाडाँै आइपुग्नुभएको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घका केन्द्रीय अध्यक्ष डिबी रानापालले जानकारी दिनुभयो । मिग्युलसँगै विभिन्न देशका १७ जना प्रतिनिधि काठमाडाँै आइपुगेका र अन्य प्रतिनिधि आउने क्रम जारी रहेको छ । 

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका प्रतिनिधिले भाग लिनेभएका छन् । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको रानापालले बताउनुभयो । सोलुखुम्बुलाई खेलकुदका क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउन सो सम्मेलन पत्तालेमा आयोजना गरिएको र सम्मेलनले खेलसँगै नेपाली पर्यटनमा सकारात्मक सहयोग पु¥याउने विश्वास रानापालले व्यक्त गर्नुभयो । 

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृश्यावलोकनका साथमा हिमाली रहनसहन, संस्कृतिका बारेमा बुझ्न र बुझाउनसमेत सम्मेलनबाट सहयोग पुग्ने रानापालले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!