लिगलिगे दौडको उपाधि नेपाली सेनाका रानाभाटलाई

Posted on: 25 Sep, 2017

मनोज पराजुली/असोज ९, काठमाडौँ । आठौँ लिगलिगे दौडको उपाधि नेपाल आर्मीका खगेन्द्र बहादुर भाटले जितेका छन् । 


चेपे र मस्र्याङदी दोभानबाट लिगलिगकोट सम्मको १३.८ किलोमिटरको दुरी १ घण्टा २ मिनेटमा पार गर्दै डोटीका रानाभाटले उपाधि हात पारेका हुन् । निर्धारित दूरी एक घण्टा ३ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत दोस्रो भएका छन् । एक घण्टा ५ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै कृष्ण बस्नेत तेस्रो भएका हुन् ।

प्रतियोगीताको उपाधि बिजेता रानाभाटलाई श्रीपेच र पगरीको साथमा नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३० हजार र २५ हजार पुरस्कार पाएका छन् । 

यस्तै चौँथो भएका नरेश बुढाले नगद १० हजार १ सय ५,पाचौँ भएका सुमन पुलिङ्गले नगद ५ हजार ५,छैँटौँ भएका अमिर सिंहले नगद ४ हजार ४,सातौँ भएका सन्दिप बि.कले नगद ३ हजार ३ र आठौँ स्थानमा रहेका धर्म महर्जनले  २ हजार २ नगद सहित प्रमाणपत्र हात पारे । प्रतियोगीतामा एक सय ३ जनाको सहभागिता रहेको थियो ।

महिला खुल्लातर्फ बडडाँडादेखि लिगलिगकोट सम्मको पाँच किलोमिटर दुरीको दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएकी छन् । उनले ३९ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् । 

त्यस्तै ४२ मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सानुमाया कार्की दोस्रो र ४८ मिनेट २८ सेकेण्डमा निर्धा्रित दूरी पार गर्दै मिरा श्रेष्ठ तेस्रो भएकी छिन् । उनीहरुले क्रमश १५ हजार, दश हजार र पाँच हजार नगद पुरस्कार पाएका छन् । 

स्थानीय तर्फको दौड प्रतियोगितामा अमिर सिंह पहिलो भएका छन् । उनले निर्धारित दूरी एक घण्टा १० मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । निर्धारित दूरी एक घण्टा १४ मिनेट ३७ सेकेण्डमा पार गर्दै सूर्यबहादुर बिक दोस्रो र एक घण्टा १५ मिनेट ५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै राजन नेपाली तेस्रो भएका हुन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, दश हजार र पाँच हजार नगद पुरस्कार पाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि खेलकुद मन्त्री राजन केशीले परम्परा जोगाउनका लागि गरिएको दौड प्रतियोगिताले लिगलिगकोटको विकासमा टेवा पुग्ने बताए । पूरानो परम्परालाई जोगाउन र लिगलिगकोटको विकासका लागि दौडको आयोजना गरिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण बहादुर राना मगरले बताए ।

लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि विगत २०६७ सालदेखि लिगलिगे दौडको आयोजना गदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!