एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

Posted on: 17 Dec, 2017

पुस २, काठमाडौँ (रासस) | एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । 

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो । 

जवाफमा सिंगापुर ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटिएपछि नेपाल च्याम्पियन बन्न सफल भयो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार गरेको थियो । 

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ६३ रनको योगदान दिए । रित गौतमको अनुपस्थितिमा कप्तानी सम्हालेका विशालले ७९ बल खेल्दै एक छक्का र चार चौकाको मद्दतमा ६३ रन जोडे । 

त्यसैगरी नारायण जोशीले अविजित ४६ रनको योगदान दिए भने सुवास ऐर २२, तृतराज दास १९, सुनिल भण्डारी १५, प्रतिश जिसी १० तथा राजन मगरले ३ रन जोडे । शुरुआती ब्याट्सम्यान कुशल मल्ल एक रन पनि जोड्न नसकी बाहिरिए । 

यता सिंगापुरका इसान सानवेले २ विकेट लिए । सिंगापुरको ब्याटिङतर्फ भने साइहर्ष भेनुगोपालले सर्वाधिक ३१ तथा अर्नव वाद्वाले २१ रन जोडे । सिंगापुरलाई कमैमा समेट्ने क्रममा नेपालका सूर्य तामाङ र अजयकुमार लुनियाले ३÷३ विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!