वर्षाको कारण बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट खेल अवरुद्ध

Posted on: 24 Jan, 2018

माघ १०, बैतडी | बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ । 

गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधि भिडन्त बिहीबार १० बजे शुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिनुभयो । 

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधिका लागि दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहीमाडौँ भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउँदै खलंगा फाइनलमा पुगेको हो भने दशरथचन्द नगरपालिका–६ थालिगाडालाई चार विकेटले स्तब्ध पार्दै देहीमाडौँ उपाधि नजिक पुगेको हो । 

उपाधि विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार र म्यान अफ द सिरीज एक जनाले रु पाँच हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । शहीद दिवशको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!