बागलुङमा मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि हुने

Posted on: 25 Jan, 2018

माघ ११, बागलुङ | यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । 

बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा सहभागिताको लागि ४ नं प्रदेशका २६ वटै नगरपालिकालाई पत्राचार गरिएको छ । प्रतियोगितामा १५ देखि २० वटा टिम सहभागी हुने अपेक्षा लिइएको छ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

नगरपालिका आफैँले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको विजेताले नगद पुरस्कार रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!