डीपीएलको उपाधि टिम चौराहा धनगढीलाई

Posted on: 13 Apr, 2018

चैत ३०, धनगढी । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो ।

धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । १२१ रन बनाउँदा चौथो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि काठमाडौं दबावमा परेको थियो । तर, सनिप पटेलले आक्रामक पारी खेले ।

१२ बलमा २२ रन बनाएका उनलाई रोहन मुस्तफाले बोल्ड गरे । त्यसपछि खेल टिम चौराहाको पक्षमा गयो ।

काठमाडौंका अमित श्रेष्ठले ३९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३० र नरेश बुढाएरले १९ रन बनाए ।

पुष्प थापाले १० बलमा १५, रसिद खान २ रनमा आउट हुँदा भुपेन्द्र थापाले खाता नै खोल्न सकेनन् ।

टिम चौराहा धनगढीका ललित भण्डारीले तीन, रोहन मुस्तफाले दुई, समसद शेख र योगेन्द्र सिंह कार्कीले एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

१२ रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सुनिल धमला र रोहन मुस्तफाले सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए ।

धमलाले ६३ बलमा ७८ रन बनाए । ३ छक्का र ८ चौका हानेका उनी अन्तिम ओभरको दोस्रो बलमा सुबोध भाटीको बलमा क्याच आउट भए । रोहन मुस्तफाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६० रन बनाए । उनी १८ औँ ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!