क्यानको विशेष साधारणसभा हुँदै

Posted on: 18 Apr, 2018

वैशाख ५ काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकूद परिषद (राखेप) को प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउने छ । विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो । 

विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटि गठन हुनेछ । मनिटरिङ कमिटिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटिमा आइसीसीको तीन, राखेप र निर्वाचित क्यानको समान एक÷एक प्रतिनिधि सदस्य रहने छन् । 

विसं २०७२ मंसिरमा चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित हुनुभएको थियो । क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएको थियो । राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । 

क्यानको निपष्क्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेको थियो । आईसीसीको बोर्ड बैठक अघि विधान संसोधन गर्ने गरी साधारणसभा गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । 

क्रिकेट विवाद समाधानका लागी चौतर्फी दबाब बढेपछि क्यानको निर्वाचित कमिटिले विधान संसोधनका लागी साधारणसभा गर्न लागेको हो । क्यानले विधान संसोधन गरे नेपाल क्रिकेट संघ माथी गरिएको निलम्बन फुकुवा गर्ने आईसीसीले यसअघि नै जनाउ दिइसकेको छ । 

“नेपाली क्रिकेटको विवाद समाधान गर्न हामी आतुर छौँ,” क्यान अध्यक्ष चन्दले भन्नुभयो, “अब बस्ने साधारणसभाले विवाद समाधान गर्र्ने आशा गरेका छौँ ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!