दिल्लीका कप्तानले छाडे कप्तानी र २.८ करोड तलब, आजको खेलमा सन्दिप अट्लान ?

Posted on: 27 Apr, 2018

वैशाख १४, काठमाडौँ | गौतम गम्भीरले आईपीएलको एक टीम दिल्ली डेयरडेभिल्सका कप्तानी छाडेका छन् । यस अघिका ६ खेल मध्ये ५ वटा खेल हारेपछि आलोचित भएका गम्भीरले कप्तानी छाड्ने निर्णय लिएका हुन् । 

आज बेलुका दिल्लीले कोलकाता नाइटराइडर्ससँग खेल्दैछ । यस अघि ७१ रनले कोलकाता सँग हारेको दिल्लीले आजको खेलमा बदला लिने मानसिकता बनाएको छ । यस अघिको कप्तान गौतम गम्भीरले पछी हटेपछी दिल्लीको कप्तानीको जिम्मेवारी श्रेयस ऐयरले पाएका छन् । अब आइपीएलका बाँकी खेल दिल्ली ऐयरको कप्तानीमा खेल्नेछ ।

खेलबाट कप्तानीको जिम्मेवारीबाट पछी हट्दै गम्भीरले भनेका छन् - ‘टिमको कमजोर अवस्थाको म जिम्मेवारी लिन्छु । मैले कप्तानी छोड्ने निर्णय गरेको छु । ऐयरले मेरो भूमिका निभाउने छन् । मलाई विश्वास छ हामीले अगाडि राम्रो गर्ने छौँ’ दिल्लीमा पत्रकार सम्मेलन गर्दै गम्भीरले भनेका छन्, ‘यो पूर्ण रुपमा मेरो व्यक्तिगत निर्णय हो ।

खेलमा आत्मालोचना गर्दै गौतम गम्भीरले आफ्नो पुरै तलब २.८ करोड नलिने फैसला समेत गरेका छन् । आईपीएलको इतिहासमा यो पहिलो अवसर हो जसमा कुनै कप्तानले राम्रो प्रदर्शन नगरेपछि पुरै तलब छाडेको छ । तर कप्तानी छाडेपनि गम्भीरलके टीम भने छाडेका छैनन् । गंभीरले आईपीएलको यस सीजनको पहिलो खेलमा ५५ रन बनाएका थिए । तर त्यसपछिको सबै खेलमा असफल रहे ।

गंभीरले २०११ मा कोलकाता नाइटराइडर्सको कप्तानी सम्हालेका थिए । उनले लगातार ७ बर्षसम्म कोलकाताको कप्तान सम्हाले । उनको अगुआईमा कोलकाता २ पटकसम्म फाइनलमा पुगेको थियो र दुवै पटक जित हाँसिल गरेको थियो । त्यसपछि उनले दिल्लीको टिमसँग खेल्ने इच्छा प्रकट गरेका थिए । गम्भीरले ७ बर्षसम्म कोलकाताको कप्तानी सम्हालेको भएपनि उनि दिल्लीका हुन् । 

खेलमा गम्भीरले कप्तानी छाडेपछी अबका कप्तान श्रेयस अय्यरले भने "कप्तानीको जिम्मेवारी सुम्पिएकोमा टीम म्यानेजमेन्ट र कोचलाई धन्यवाद । यो मेरो लागि ठूलो सम्मानको कुरा हो ।"

श्रेयसले भने, "मलाई चुनौतिहरु मन पर्छ । आफैलाई साबित गर्न मेरो लागि यो ठूलो मौका हो । म टीमलाई आफ्नो भरसक अधिकतम स्तरसम्म लाने कोशिश गर्नेछु ।" (तलको तश्विरमा ब्याटिङ गर्दै दिल्लीका नयाँ कप्तान श्रेयस)


आइपिएल २०१८ मा ६ म्याचखेलेपछि दिल्ली डेयरडेविल्स सबैभन्दा तल्लो स्थानमा छ, तर कोच रिकीले दिल्लीले अबको खेलमा आफ्नो प्वाइन्ट सुधार्ने भरोसा व्यक्त गरेका छन् । उनले भने "अझै ८ म्याच खेल्न बाँकी छ । जस मध्ये ६ म्याच घरेलू मैदानमा हुँदैछ । हाम्रो सबै खेलाडी एकसाथ राम्रो प्रदर्शन गर्न सकीरहेका छैनन् । यदि हामी अहिलेसम्मको कमजोरीलाई सुधार्न सक्यौं भने हामी बेस्ट छौं ।"

सन्दिप लामिछानेले खेल्ने आशा 

नेपालका राष्ट्रिय खेलाडी सन्दीप लामिछाने यतिखेर दिल्लीको टिममा छन् । तर दिल्लीले ६ म्याच खेलीसक्दा सन्दिप प्लेयर ११मा पर्न सकेका छैनन् । यस अघि गौतम गम्भीरले सन्दिपलाई भरोशा नगरेको भन्दै नेपाली तथा भारतकै कतिपयले प्रतिक्रिया दिएको अवस्थामा अब २३ बर्षीय कप्तानले सन्दिपलाई खेलाउने आशा गरिएको छ । 

नेपाली समर्थकहरुले दिल्लीले एकपटक भएपनि सन्दिपलाई खेलमा अवसर दिनुपर्ने भन्दै सामाजिक संजालमा आक्रोश व्यक्त गर्दै गर्दा भारतमा दिल्लीका समर्थकहरुले समेत बिदेशी खेलाडीलाई अवसर दिनुपर्ने बताउँदै आएका छन् । दिल्लीको खेलमा फिल्डीङ कमजोर भएको भन्दै आलोचना पनि हुँदै आएको छ । यस अघि कोलकातासँग ७१ रनले पराजित भएपछी दिल्लीलाई फिल्डीङमा कमजोर भनिएको छ । यदी दिल्लीले आज कोलकातासँगको खेलमा आफूलाई यस अघिकै जस्तो कमजोर नबनाउन फिल्डीङलाई बलियो बनाउन केहि खेलाडी परिवर्तन गर्न सक्ने देखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!