विश्वकप इतिहासमा निरन्तरता: यस पटक पनि आयोजक राष्ट्रले जित्यो उद्घाटन खेल

Posted on: 14 Jun, 2018

अनिल अधिकारी | जेठ ३१, काठमाडौँ | विश्वकप इतिहासलाई निरन्तरता दिंदै विश्वकप २०१८ को उद्घाटन खेल पनि आयोजक राष्ट्र रुसले जितेको छ । रुसले आजको खेलमा साउदी अरवलाई ५-० गोलले पराजित गरेको हो ।

विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । यो पटकको उद्घाटन खेल पनि इतिहासकै निरन्तरतामा गएको छ । उद्घाटन खेल सुरु हुनु अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गर्दै खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गरे भने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि सम्बोधन गरे । लगत्तै पहिला साउदी अरब र पछि रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको थियो । 

रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा भएको आजको उद्घाटन खेलमा पहिलो हाफमा रुसले २ गोल गरेको थियो । त्यसपछि दोश्रो हाफमा रुसले थप ३ गोल थप्दै आफ्नो पक्षमा ५ गोल बनाएको थियो । रुसले खेलको अतिरिक्त समयमा २ गोल गर्दै आयोजक राष्ट्रको शक्तिलाई विश्वसामु प्रस्तुत गरेको छ । रुसको लागि पहिलो गोल ३२ वर्षीय रूसी खेलाडी इयुरी गाजिन्स्कीले १२ औं मिनेटमा गरे । 

त्यस्तै पहिलो हाफमै रुसका खेलाडी डेनिस चेरिशेवले दोश्रो गोल गरे । खेलमा डेनिस चेरिशेव २ गोल गरे । चेरिशेवले आफ्नो दोश्रो गोल अतिरिक्त थपिएको समयको १ मिनेटमा गरेका थिए । त्यस्तै रुसको दोश्रो हाफको ७१ औं मिनेटमा तेश्रो गोल गर्दै अर्तेम डीजुबाले रुसको लागि तेश्रो गोल गरे । खेलको चौथो गोल अतिरिक्त समयको १ मिनेट र पाँचौं गोल अतिरिक्त समयको ४ औं मिनेटमा भएको थियो । रुसको लागि अन्तिम गोल अलेक्जेन्डर गोलोभिनले गरे । गोल अघि ८८ औं मिनेटमा गोलोभिनले पहेलो कार्ड पाएका थिए । 


८० हजार दर्शक क्षेमता भएको लुझनिकी रङ्गशालामा उद्घाटन खेल हेर्न ७८ हजार ११ जनाको उपस्थिति रहेको थियो ।  

Photo: fifa.com 

यस बिषयमा तपाइको प्रतिक्रिया...!