बुधबारको खेलमा पोर्चुगल, उरुग्वे र स्पेन बिजयी, इजिप्ट, साउदी अरव र मोरक्को समुह चरणबाटै बाहिरिए

Posted on: 21 Jun, 2018

असार ७, काठमाडौँ | रुसमा जारी विश्वकप २०१८ अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनले इरानलाई १-० गोल अन्तरले पराजित गरेको छ । समूह ‘बि’ को खेलमा स्पेनले जित हात पारेसंगै पोर्चुगलको बराबर अंकमा ग्रुप 'बि'को प्रतिष्पर्धी बनेको छ । दुवै टिमको समान ४/४ अंक भएको छ । 

स्पेनको जितमा डिएगो कोष्टा नायक बने । उनकै गोलले स्पेनले इरानमाथि कठिन जित हात पारेको हो । कोष्टाले खेलको ५४औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने अवसर पाएपनि स्पेन गोल गर्न सकेन । खेलअवधिभर बल नियन्त्रणमा राखेको स्पेनले एकपछि अर्को गोल गर्ने अवसर गुमाएको थियो । खेलमा इरानले पनि केहि महत्वपूर्ण अवसरहरु गुमाउन पुगेको थियो । 

यस अघि बिजयी बनेको इरानको साथमा अघिल्लो खेलको ३ अंक छ । इरानले आगामी खेल पोर्चुगलसँग खेल्दैछ । खेलमा इरान वा पोर्चुगल जसले जित्छ उसले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । यदी इरान पोर्चुगलसँग बराबरीमा रोकिए । पोर्चुगल अंकको आधारमा अन्तिम १६ मा पुग्नेछ । 

यस अघि बुधबार भएका थप दुई खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले पराजित गरेको थियो भने उरुग्वेले साउदी अरवलाई १-० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेले साउदीलाई पराजित गरेसंगै विश्वकपमा अन्तिम १६ मा पुग्ने समुह 'ए' बाट पहिलो देश रुस भएको छ भने समुह 'ए' मै रहेको उरुग्वे पनि ६ अंक सहित अन्तिम १६ मा पुगेको छ । 

विश्वकपको हालसम्मको खेल स्कोरकै आधारमा इजिप्ट, साउदी अरव र मोरक्को समूह चरणबाटै बाहिरिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!