विश्वकपमा आज: उरुग्वे vs फ्रान्स, ब्राजिल vs बेल्जियम भिड्दै, को कति बलियो ?

Posted on: 06 Jul, 2018

असार २२, काठमाडौँ | विश्वकपको क्वाटरफाइनल खेल आज र भोलि हुँदैछ । क्वाटरफाइनलमा स्थान बनाएका ८ टिम मध्ये आजै ४ राष्ट्रको खेल हुँदैछ भने भोली ४ राष्ट्रले खेल्नेछन् । 

विश्वकपमा आजको खेलमा २ टिम र भोलीको खेलबाट २ टिम विश्वकपको सेमिफाइनलमा पुग्ने हुँदा यसलाई निकै महत्वका साथ हेरिएको छ । त्यसो त आजको खेल निकै महत्वपूर्ण छ । आजको पहिलो खेल बेलुका ७:४५ बजे उरुग्वे र फ्रान्सबीच हुँदैछ भने अर्को खेल ११:४५ बजे ब्राजिल र बेल्जियमबीच हुँदैछ । 


आजको पहिलो खेलमा गोलको उत्कृष्ट लय समातेको फ्रान्स र उरुग्वेबीच हुँदैछ । फ्रान्सको लागि आज फेरी एन्टोइन ग्रिजमन, ओलिभियर जिरुड र केलियन एमबाप्पेको प्रदर्शन निकै महत्वपूर्ण रहनेछ । प्रि-क्वाटरफाइनलबाट क्वाटरफाइनलमा आउन एम्बाप्पे एक्लैले गरेको प्रदर्शनलाई निकै चासोको साथ हेरिएकोमा आज उनको लय उस्तै हुने-नहुने हेर्न बाँकी छ । अर्जेन्टिनाविरुद्ध १९ वर्ष पुगेका एमबाप्पेले एकै खेलमा दुई गोल गरका थिए । जसको कारण फ्रान्सले क्वाटरफाइनलको यात्रा तय गरेको थियो । त्यसो त आज उरुग्वेली डिफेन्डरद्वय डिएगो गोडिन र जोसे जिमिनेजले एम्बाप्पेलाई त्यति सहज रुपमा मैदानमा छाड्ने छैनन् । अर्जेन्टिनाबिरुद्ध एम्बाप्पेको प्रदर्शनकै कारण आज उरुग्वेको रणनीति एम्बाप्पेलाई रोक्नमा केन्द्रित रहनेछ । त्यस्तै उरुग्वेले आज रक्षात्मक खेल प्रदर्शन गर्नेछ । जसरी हुन्छ फ्रान्सका फरवार्डलाइ रोक्ने र आफ्नो लागि गोल गर्ने रणनीतिमा उरुग्वे रहनेछ । 

सातौंपटक क्वारटफाइनल खेल्न लागेको फ्रान्सले ४ पटक जित निकालेको थियो भने २ पटक हारेको थियो । त्यस्तै उरुग्वेले ५ औं पटक क्वाटरफाइनल खेल्दैछ । यस अघिका खेलमा ३ पटक जित र एक पटक उरुग्वेले हार व्यहोरेको थियो । 

यसअघिका विश्वकपमा फ्रान्स र उरुग्वे तीनपटक भिडेका छन् । सन् १९६६ मा उरुग्वेले समूह चरणमा फ्रान्सलाई २–१ ले पराजित गरेकोथियो । त्यसपछि भएको दुई खेलमा बराबरी भए । त्यसपछिका दूई मैत्रीपूर्ण खेल पनि गोलरहित बराबरीमै सिमित रहे । यसको मतलव आजको खेलमा उरुग्वे र फ्रान्समा को बलियो भन्नेमा आंकलन गर्न सहज छैन ।

त्यस्तै अर्को खेलमा आज विश्वकप २०१८ मा सर्वाधिक गोल हान्ने टिम बेल्जियम र रक्षात्मक खेल खेलेको ब्राजिल बीच प्रतिष्पर्धा हुँदैछ । आज बेल्जियमका लागि विश्वकपमा ४ गोल गरिसकेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र ब्राजेलियन फुटबल स्टार नेयमरबीचको निकै महत्वपूर्ण प्रतिष्पर्धा हुनेछ । नकआउट चरणमा मेक्सिकोसँग खेलेको ब्राजिलको खेल निकै उत्कृष्ट रह्यो । विश्वकपमा सदाबहार छाईराहने ब्राजिल आफैमा शक्तिशाली टिम हो । त्यसमा पनि यस विश्वकपमा चम्केर खेल्न नसकेका नेईमारको लागि आजको खेलमा हुने प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।


आजको खेलमा उनि सम्हालिएर खेल्न सके ब्राजिलको लागि सेमिफाइनल यात्रा सहज हुनेछ । विश्वकप इतिहाँसमा सर्वाधिक ५ पटक विश्वकपको ट्रफी पाईसकेको ब्राजिलसँग धेरै अनुभव सहित आत्मविश्वास छ । बेल्जियमका लागि गोलकिपर थिबाउट कोर्टियस, विंगर केभिन डी ब्रुयन, फरवार्ड रोमेलु लुकाकु यो पटक एकाएक चम्किएका स्टार हुन् । त्यसो त जारी विश्वकपमा सर्वाधिक गोल गरको आक्रामक टिम बेल्जियमलाई जित्नु ब्राजिलको लागि त्यति सहज भने हुनेछैन । बेल्जियमले ४ खेलमा १२ गोल गरिसकेको रेकर्ड बनाउँदा ब्राजिलले जारी विश्वकपमा एक गोलमात्र खाएको कुरा पनि महत्वपूर्ण छ । उसले आफ्नो ४ खेलमा विपक्षीलाई आफ्नो पोस्टमाथि ४ पटकमात्र गोलको लागि प्रहार गर्ने अवसर दिएको छ ।

ब्राजिल र बेल्जियमबीच अहिलेसम्म ४ खेल भएको छ । यसमध्ये तीन खेलमा ब्राजिल विजयी भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!