क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकप २०१८ को विश्वबिजेता बन्यो फ्रान्स

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौँ । विश्वकप २०१८ को खेल सम्पन्न भएको छ । रसियामा जारी विश्वकप खेलमा आइतबार सम्पन्न फाइनल खेलमा क्रोयशियालाई ४-२ गोलले पराजित गर्दै फ्रान्सले दोश्रो पटक विश्व बिजेताको उपाधि जितेको छ । 


रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न भएको फाइनल खेलमा क्रोएशियाको आकर्षक प्रदर्शनका बाबजुत फ्रान्सले ४-२ गोलले जित हात पारेको हो । फ्रान्सलाई उपाधि दिलाउन फ्रान्सले २ गोल क्रोएशियाकै गल्तीका कारण उपहारमा पाएको थियो ।  जसमा फ्रान्सले अघिल्ला २ गोल आत्मघाती र डिबक्स भित्रको ह्याण्डबलका कारण पेनाल्टी मार्फत गरेको थियो । फ्रान्सका लागि एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे र पाउल पोग्बाले १/१ गोल गरे ।

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । जसको कारण फ्रान्सले १-० को अग्रता लियो ।

त्यसपछि खेलको २८औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भयो । जुन बेला क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरेका थिए ।


त्यसपछि खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पायो र त्यसलाई सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरेर फ्रान्सलाई २-१ को अग्रता दिलाए । 

खेलको पहिलो हाफ २-१ मा रोकियो । दोश्रो हाफ पछी फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्यो । जुन क्रममा खेलको ५९औं मिनेटमा फ्रान्सका पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए भने खेलको ६५ औं मिनेटमा एम्बाप्पेको अर्को गोलमा ४–१ गोलमा फ्रान्सले अग्रता लियो । 


त्यसपछि क्रोएसियाका लागि ६९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै ४–२ गोलको स्थितिमा पुर्याए तर त्यसपछि कुनै गोल हुन सकेनन् । 


यस संगै फ्रान्सले विश्वकप २०१८ को उपाधि उचालेको छ भने क्रोयशिया उपविजेता बनेको छ । पहिलो पटक फाइनलमा पुगेको क्रोयशिया उपविजेतामा चित्त बुझाउँदा फ्रान्सको लागि भने यो उपाधि दोश्रो विश्व विजेताको उपाधि बनेको छ ।  यसअघि फ्रान्सले सन् १९९८ मा विश्वकप फुटबलको उपाधि उचालेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!