साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

Posted on: 09 Aug, 2018

साउन २४, भुटान | आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । 

थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । 

उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । त्यतिबेलाको फाइनलखेलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो । 

त्यस्तै समूह चरणको खेलमा भारतले भुटानलाई ३–० र नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग ३–० को हार बेहोरेको थियो । गत वर्ष सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान र भारत गरी चार राष्ट्र सहभागी थिए । 

आजै हुने दोस्रो खेल स्थानीय समयानुसार बेलुका ७ बजे समूह बीअन्तर्गतका बङ्गलादेश र पाकिस्तान आमनेसामने हुँदैछन् । बङ्गलादेश साविक विजेता हो भने पाकिस्तानको प्रतियोगितामा पहिलो सहभागिता हो । 

आगामी भदौ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान गरी छ राष्ट्रको सहभागिता छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!