अबको केहि मिनेटपछि साफमा अहिलेसम्म जित्न नसकेको माल्दिभ्ससंग नेपाल भिड्दै

Posted on: 12 Sep, 2018

भदौ २७, काठमाडौँ | साफ च्याम्पियनशिप अन्तर्गत अबको केहि मिनेटमै अर्थात ३ बजेर ४५ मिनेटमा नेपाल र माल्दिभ्सबीच महत्वपूर्ण फुटबल प्रतिष्पर्धा हुँदैछ । 

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत आजै सेमिफाइनलका दुई खेल अन्तर्गत नेपाल र माल्दिभ्स, अर्को तर्फ भारत र पाकिस्तानबीच खेल हुनेछ । आज नेपाल र माल्दिभ्सबीचको खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ । नेपाल समूह ए को विजेता हो भने माल्दिभ्स समूह 'बी' को उपविजेता हो ।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपालले माल्दिभ्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने योजनामा छ । उता सन् १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलिसकेको छ । माल्दिभ्सले सन् २००८ मा उपाधि समेत जितेको थियो ।

अर्को महत्वपूर्ण कुरा के छ भने साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई पराजित गर्न सकेको छैन । समूह चरणको तीन खेलमा नेपालले पहिलो खेलमा हार र त्यसपछिका दुई खेलमा उत्कृष्ट पर्दर्शन गरेको थियो । 

इतिहाँस हेर्ने हो भने सन् २०१६ बंगबन्धु राष्ट्रिय रंगशालामा सम्पन्न बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेलमा नेपाल समूह 'ए' को उपविजेता माल्दिभ्स समूह 'वि' को विजेता थियो । जनावरी १९ तारिख साँझ ५ बजे भएको उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलको अपत्यारीलो जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । साफमा भने नेपालले माल्धिभ्ससंग जितेको रेकर्ड छैन । 

२०१६ को उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा बहराइनलाई ३–० गोलले पराजित गर्दै नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचाल्न सफल भएको इतिहाँस पनि छ । त्यसपछि अहिले करिब २ वर्षपछि नेपाल र माल्दिभ्स यही मैदानमा सेमिफाइनल खेल मै प्रतिस्पर्धा गर्न लागेको छ । पक्कैपनि माल्दिभ्सलाई २०१६ बंगबन्धु गोल्डकपको बदला लिने मौका छ भने उही इतिहाँस दोहर्याउने आशा सहित उत्साहमा नेपालले खेल्ने छ ।

यो पटक नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४–० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेर आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । त्यसो त यही प्रतियोगितामा माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २–० गोलको हार ब्यहोरेको थियो । माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो । 

जारी साफ खेलमा माल्दिभ्सले एक गोल पनि गरेको छैन भने नेपालले ३ खेलमै ७ गोल गरेर आफूलाई बलियो प्रतिष्पर्धी सावित गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!