बार्सिलोना फेरि शीर्ष स्थानमा, कप्तान मेस्सी घाइते भए

Posted on: 21 Oct, 2018

कात्तिक ४, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा अंक तालिकामा आफूभन्दा माथि रहेको सेभियालाई हराएर बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । 

तर, सेभियासँगको खेलमा बार्साका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । उनको चोट कति गम्भीर हो भन्ने निर्क्यौल भैसकेको छैन ।  

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबार अबेर क्याम्प नोउमा भएको खेलमा पाहुना टोली सेभियालाई ४- २ गोल अन्तरले हराएर शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको दोश्रो मिनेटमै मेस्सीको पासमा काउन्टिन्होको गोलबाट अग्रता लिएको बार्साका लागि दोश्रो गोल १२ औँ मिनेटमा मेस्सीले गरेका थिए । २४ औँ मिनेटमा पाखुरामा चोट लागेपछि मेस्सी मैदानबाट बाहिरिए थिए । 

लुइस स्वारेजले ६३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि बार्सा ३-०ले अगाडी भएको थियो । 

सेभियाका पाब्लो सराबियाले ७९ मिनेटमा एक गोल फर्काए । इभान राकिटिकले ८८ औँ मिनेटमा गोल गरेर बार्सालाई ४-१ को अग्रता दिलाएका थिए । तर, अतिरिक्त समयमा सेभियाका मुरिएलले गोल गरेपछि समग्रमा बार्सा ४-२ ले बिजयी बन्यो ।  

शुक्रबार भएको नवौं खेल जित्दै डिपोर्टिभो अलाभेस १७ अंकसहित शीर्ष स्थानमा उक्लिन सफल भएको थियो । तर, शनिबारको खेलमा दोश्रो स्थानको सेभियालाई हराएपछि बार्सिलोना १८ अंकसहित फेरि शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।


सिजनको सुरुआत शानदार गरेको बार्सिलोना पछिल्ला चार खेलमा जितविहीन बनेको थियो । बार्सिलोना लिगको नवौं चरणको खेलमा भने स्पष्ट जित हासिल गर्न सफल भयो ।

बार्सिलोना यसअघिका ४ खेलमध्ये भ्यालेन्सियासँग १–१, एथ्लेटिक बिल्बाओसँग १–१ र जिरोनासँग २–२ को बराबरीमा रोकिँदा लेगानेससँग २–१ ले हारेको थियो ।

आठौँ चरणको खेलबाट १६ अंकसहित शीर्ष स्थानमा पुगेको सेभिल्लाले भने पछिल्ला ४ खेलमा स्पष्ट जिते निकालेको थियो । त्यसक्रममा उसले रियल मड्रिडलाई ३–० ले हराएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!