राष्ट्रिय खेलकूद परिषदमा तीन सदस्य नियुक्त

Posted on: 13 Nov, 2018

कात्तिक २७, काठमाडौँ | सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो । 

युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो । 

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय हुनुहुन्छ । यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल सङ्घको केन्द्रीय सदस्य रहनुभएको छ । बक्सिङका पूर्वखेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!