प्राइम टाइम्स टी–ट्वान्टी क्रिकेट हुने

Posted on: 25 Nov, 2018

मङ्सिर ९, काठमाडौँ (रासस) | महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । 

आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ । 

नेपाली टोलीको चयनमा विभिन्न उत्कृष्ट ४० खेलाडीलाई क्याम्पमा राखेर छनोट गरिने आयोजकले बताएको छ । जसमा १४ खेलाडीसहित चार वैकल्पिक खेलाडी छनोट गरिनेछ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!