आइसिसी बरियतामा पारस दुई स्थान तल झरे, सोमपाल र वसन्त कति नम्बरमा ?

Posted on: 23 Dec, 2018

पुष ८, काठमाडौँ (रासस) | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । 

यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१औँ स्थानका पारस नयाँ वरियतामा ४२औँ स्थानमा छन् । त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४औँ स्थानमा यथावत छन् । अघिल्लो महीना उनी ६४औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४औँ र ९२ औँ स्थानमा छन् । 

ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका आरोन फिन्च, चौथो वेष्ट इण्डिजका इभान लेविसे र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् । 

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, इग्ल्यान्डका आदील राशिद चौथो र अष्ट्रेलियाका आडम जम्पा पाँचौ स्थानमा छन् । अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शाकिब अल हसन दोस्रो स्थानमा छन् । अफगानिस्तानका मोहमद नाबी तेस्रो, बङ्गलादेशका मोहमद महुदुल्लाह चौथो र दक्षिण अफ्रिकाका जेपी डुमिनी पाँचौ स्थानमा छन् । अघिल्लो वर्ष नेपालले एक दिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्नर्राष्ट्रिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी वरियतामा समावेश भएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!