नेइमार परे यस्तो कारबाहीमा

Posted on: 27 Apr, 2019

बैशाख १४, काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।


प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी लिग च्याम्पियन बन्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ ।

यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति नेइमारले आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण युएइएफएले नेइमारलाई प्रतिबन्ध गरेको हो ।

उक्त खेलमा पीएसजी युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो । रेफ्रीले युनाइटेडलाई भिएआरको सहायतामा पेनाल्टी दिएका थिए । सोही पेनाल्टीका कारण पीएसजी च्याम्पियन्स लिगबाट बाहिरियो ।

चोटका कारण बेन्चमा बसेर खेल हेरेका नेइमारले खेलपछि सामाजिक सञ्जालमा रेफ्रीको निर्णयविरुद्ध आपत्ति जनक प्रतिक्रिया लेखेका थिए । फुटबल नबुझेको रेफ्रीले अनावश्यक पेनाल्टी दिने निर्णय गरेको भन्दै नेइमार रेफ्रीविरुद्ध खनिएका थिए । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!