कर्णाली प्रिमियर लिग: आर्मी सेमिफाईनलमा, न्यु होराईजनको दोस्रो जित

Posted on: 30 Apr, 2019

बैशाख १७, सुर्खेत । वाईवाई कर्णाली प्रिमियर लिग–२ प्रतियोगितामा विभागीय आर्मी क्लव पनि सेमि फाइनलमा प्रवेश गरेको छ । यस अघि सोमबारको खेलमा आयोजक कर्णाली ११ सेमिफाइनलमा प्रवेश गरेको थियो । मंगलबार भएको समूह ‘ए’को अन्तिम खेलमा आर्मीले मध्यपश्चिम क्रिकेट क्लव बाँकेलाई १०७ रनको फराकिलो अन्तरले हराउँदै समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । १७९ रनको लक्ष्य पाएको मध्यपश्चिम क्रिकेट क्लव १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ७१ रन मै समेटियो ।


मध्यपश्चिम क्रिकेट क्लवका प्रनित थापामा मगरले सर्वाधिक १९ रन बनाउँदा तुल्सीराम अहिमले १२ तथा मनोज सुनार र आकाश बिष्टले समान १० रन बनाए । मध्यपश्चिमलाई सस्तैमा समेट्नेक्रममा आर्मीका लागि कुशल मल्लले चार ओभरमा १४ रन दिएर ४ विकेट लिए सुसन भारी र सहाब आलमले समान २÷२ विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको हो । आर्मीका लागि राजेश पुलामी मगरले ५७ र हरि चौहानले ५३ रनको अर्धशतकीय पारी खेल्दा कप्तान बिनोद भन्डारीले २२ रन जोडे । मध्यपश्चिमका अमित तामाङले दुई र भरत थापाले एक विकेट लिए ।

यस्तै समूह बी को न्यु होराइजन बुटवलले दोस्रो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा न्यु होराइजन बुटवलले हिमालयन क्रिकेट एकेडेमीलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा सम्भावना बलियो बनाएको छ । निश्चल चौधरीले अर्धशतकीय पारीसंगै न्यु होराइजनले ९३ रनको लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । चौधरीले विस्फोटक पारी खेल्दै २९ बलमा ४ छक्का र ३ चौका सहित अविजित ५० रन बनाए । हिमालयन क्रिकेट एकेडेमीका पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।


टस जितेर ब्याटिङ गरेको हिमालय एकेडमिले १८ दशमलव २ ओभरमा सबै विकेट  गुमाएर ९२  रन बनाएको हो । हिमालयका दिपेन्द्र ऐरीले सर्वाधिक २५ तथा शरद खड्काले १५, भरत भन्डारीले १३ र केशव सावदले १० रन बनाए पनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । हिमालयलाई सस्तैमा समेट्ने क्रममा न्यु होराइजन बुटवलका अर्जुन रायमाझी तीन तथा कप्तान शक्ति गौचन र गोबिन्द्र खत्रीले दुई दुई विकेट लिए । जितसंगै न्यु होराइजनले ३ खेलमा २ जित र १ हार सहित ४ अंक जोडेको छ भने महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक छ । यस्तै यहि समूहमा रहेको विभागीय टोली एपीएफले दुई खेलमा शतप्रतिशत नतिजा सहित चार अंक हात पारेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!