मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जिते

Posted on: 25 May, 2019

जेठ ११, बार्सिलोना " युरोपेली गोल्डेन बुट अवार्ड स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन्।  

मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो सिजन यो अवार्ड जितेका हुन्। 

मेसीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए। मेसीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी)का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन्। एमबाप्पे मेसीसँग तीन गोलले पछि परेका थिए।

शुक्रबार राति भएको फ्रेन्च लिगको अन्तिम खेलमा लिग च्याम्पियन पीएसजी रेम्ससँग ३–१ गोलले पराजित भयो। यस खेलमा एमबाप्पेले एक गोल मात्र गरेका थिए। 

एमबाप्पेको एक गोल गोल्डेन बुटका लागि पर्याप्त भएन। यद्यपि एमबाप्पेलाई अन्तिम खेलमा मेसीलाई पछि पार्ने ठूलो अवसर थियो। स्पेनिस ला लिगाबाट मेसीले लगातार तेस्रो र समग्रमा छैटौं पटक गोल्डेन बुट हात पारेसँगै ला लिगाका खेलाडीले गोल्डेन बुट जितेको यो ११औं पटक हो।

गोल्डेन बुट जितेका मेसीले आपूmलाई च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको हारले सताइरहेको बताएका छन्। ‘मैले गोल्डेन बुटबारे त्यति सोचेको थिइनँ। मेरो दिमागमा अहिले लिभरपुलसँगको खेलबाहेक केही छैन। म अझै पनि लिभरपुलसँगको हारबारे सोचिरहेको छु’, मेसीले भनेका छन्। 

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा लिभरपुलसँग नमीठो हार खेप्दै बाहिरिएको थियो।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!