विश्‍वकप क्रिकेट: इङ्ल्यान्डसँग भारत पराजित भएपछि पाकिस्तानलाई तनाव

Posted on: 01 Jul, 2019

असार १६, काठमाडौं | जारी विश्वकप क्रिकेट प्रतियोगिताको ३८ औँ खेलमा घरेलु टोली इङ्ल्यान्डले भारतलाई ३१ रनले पराजित गरेको छ । अपराजित यात्रामा रहेको भारतलाई पराजित गरेसँगै इङ्ग्ल्यान्डले सेमीफाइनल पुग्ने सम्भावना जीवितै बनाएको छ । 

आइतवार इंग्ल्याण्डकै घरेलु मैदान बर्मिङ्घमको एजबेस्टनमा खेलिएको खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै भारतलाई ३३८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको भारतले पुरा ओभरमा ५ विकेट गुमाउँदै ३०६ रन मात्र बनाउन सक्यो । 


पहिले ब्याटिङ गरेको इङ्रल्यान्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो। इङ्ल्यान्डका लागि जोनी बेयरस्टोले १११ रनको शानदार पारी खेले । उनले यस विश्वकपमा पहिलो सतक बनाए । स्टोक्सले यस विश्वकपमा चौथो अर्थसतक बनाए। उनी ७० रन बनाएर पेभेलियन फर्किए। इंग्ल्याण्ड बिरुद्ध भारतका मोहम्मद शमीले ५ विकेट लिए भने कुलदीप यादव र जसप्रीत बुमराहले एक-एक विकेट लिन सफल भए । १० ओभरको खेल खेलेका शमीले ६९ रन दिए भने भारतको लागि योज्वेन्द्र चाहलले सबैभन्दा बढी ८८ रन दिए । 


खेलमा इङ्ल्यान्डका लागि कप्तान इयान मोर्गन १ रनमै पेभेलियन फिर्ता भए भने जो रूटले ४४ रनको पारी खेले । त्यस्तै जोस बटलर ८ बलमा २० रन बनाएर आउट भए । त्यस्तै जेसन रोय ६६ रन बनाएर आउट भए । 

भारतको लागि रोहित शर्माले सतकीय पारी खेल्दै सर्वाधिक रन पाए । आजको खेलसहित जारी विश्वकपमा उनको तेश्रो शतक हो । उनले दक्षिण अफ्रिकाविरूद्ध १२२ र पाकिस्तानविरूद्ध १४० रन बनाएका थिए । आजको खेलमा कप्तान विराट कोहलीले ६६ रन बनाएर आउट भए । 

आजको खेल जितेसँगै इङ्ल्यान्ड ८ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ । इङ्ल्यान्डको जीतसँगै पाकिस्तान भने चौथो स्थानबाट १ स्थान तल झरेको छ । अब पाकिस्तान तल्लो स्थानमा धकेलिसँगै उसले बंगलादेशसँग जित निकालेर पनि पुन: इंग्ल्याण्डको अर्को खेलमा हारको प्रतीक्षा गर्नुपर्ने हुन्छ । यदी भारतले जितेको भए पाकिस्तान अन्तिम चारमै पक्का हुने स्थिति थियो तर भारत पराजित हुँदा पाकिस्तानको अन्तिम चारमा पुग्ने सम्भावाना निकै न्यून रहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!