उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो

Posted on: 09 Jul, 2019

असार २४, काठमाडौँ  | एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे । हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे । 

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिङ्गापुरलाई डिएल पद्धतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

 उक्त प्रतियोगिताको उपाधि विजेता टोली यु–१९ एशिया कपमा छनोट हुनेछन् । एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!