५ पटकको विश्वकप बिजेता अस्ट्रेलिया पराजित, फाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने

Posted on: 11 Jul, 2019

असार २६, काठमाडौं । जारी विश्वकप क्रिकेट दोश्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली समेत रहेको इंग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । 

बिहीबार भएको खेलमा अस्ट्रेलियालाई इंग्ल्याण्डले ८ विकेटले पराजित गर्यो । खेल जितेसँगै विश्वकप क्रिकेट २०१९ को फाइनलमा इंग्ल्याण्ड र न्युजिल्यान्डबीच भेट पक्का भएको छ । फाइनल खेल १४ तारिखमा लर्डसमा हुँदैछ । 


आजको खेलमा इंग्ल्याण्डको एड्बेस्टोनमा अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै २२६ रन पूरा गरेको हो । खेलमा इङ्ल्यान्डका लागि जेसन रोय अर्धशतकीय पारी खेले । उनले ६५ बल खेलेर ९ चौका र ५ छक्का प्रहार गर्दै ८५ रन बनाएका थिए । त्यस्तै इङ्ल्यान्डका र जोए रुटले ४९ रन जोड्दा इयान मोर्गान ४५ र जोन्नी बेयरिस्टो ३४ रनको योगदान गरेका थिए । खेलमा बलिङतर्फ अस्ट्रेलियाका लागि मिचल स्टार्क र प्याट कमिन्सले समान एक–एक विकेट लिएका थिए । 


खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २२३ रन मात्र बनाउन सकेको थियो । इंग्ल्याण्ड विरुद्धको खेलमा अस्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ८५ रन बनाए । उनले १ सय १९ बल  खेल्दै ६ चौका प्रहार गरेका थिए । त्यस्तै मिचेल स्टार्कले २९ रनको योगदान दिए भने एलेक्स केरीले ४६ रनको योगदान गरे । खेलमा ग्लेन म्याक्सवेलले २२ रन बनाए भने ओपनर डेबिड वार्नरले ९ रन मात्र जोड्न सके । खेलमा नाथन लियोनले ५ रन बनाए भने जेसन बेरेनड्रफले १ रन मात्र बनाएर आउट भए । अष्ट्रेलियालाई २२३ रनको स्कोरमा समेट्ने क्रममा इङल्यान्डका क्रिस वोक्स र आदिल रासिदले समान तीन–तीन विकेट लिए । त्यस्तै जोफ्रा आर्चर र मार्क वुडले एक/एक विकेट लिए । 


यो पटकको विश्वकपको आयोजक समेत रहेको इङ्ल्यान्डले अहिलेसम्म विश्वकपमा उपाधि उचाल्न सकेको छैन । विश्वकपको दावेदार मानिएको अष्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ  । मंगलबार र बुधबारको खेलबाट न्युजिल्याण्डद्वारा भारत पराजित भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!